डरलाग्दो स्काइ साइक्लिङ बागलुङमा सहासिक पर्यटक भित्राउन मद्दत पुग्ने

सम्पादक  |  प्रकाशित मिति: २०७५, ९ कार्तिक शुक्रबार १८:२०

746 पटक हेरिएको

बागलुङ ।
विश्व भरका साहसिक पर्यटकलाई आकर्षित गर्न बागलुङमा स्काइ साइक्लिङ (लठ्ठामाथि साइकल गुडाउने) निर्माण गरिएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा ‘द क्लिफ प्रा.लि.’ले स्काइ साइक्लिङका निर्माण गरेको हो । प्रा.लि.ले विश्वभरका साहासिक पर्यटकहरुलाई लक्षित गरी निर्माण सुरु गरिएको स्वीङ र बन्जीजम्पका लागि तयार गरिएको संरचना नजिकै स्काइ साइक्लिङको संरचना निर्माण गरिएको प्रा.लिका अध्यक्ष राजु कार्कीले बताए ।

विश्वका साहासिक खेल पर्यटकहरुलाई लक्षित गरी नेपालमै पहिलो पटक स्काइ साइक्लिङ निर्माण गरिएको कार्कीको भनाई छ । ‘विश्वका विभिन्न ठाउँमा यस्ता खेलका लागि संरचनाहरु निर्माण भएका छन्, तर नेपालमा भने पहिलो पटक हामीले यस्तो संरचना निर्माण गरेका छौं, यो संरचना निर्माणसँगै विश्वका साहासिक पर्यटकहरुलाई बागलुङसम्म ल्याउन ठूलो मद्धत पुग्नेछ ।’ कार्कीले भने ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा कम्पनीले निर्माण गरिरहेको बन्जीजम्प नजिकैदेखि नारायणस्थानकै यान्त्रिक पुल नजिकैको भिरमा स्काइ साइक्लिङ निर्माण गरिएको छ । २ सय ७० मिटर लामो उक्त स्काइ साइक्लिङ विश्वकै सबैभन्दा लामो एवं अग्लो हुने कम्पनीले जनाएको छ । लठ्ठाको सहायतामा लठ्ठा माथि साइकल गुडाउने काम विश्वका विभिन्न मुलुकहरुमा चर्चित भएको र धेरैको आकर्षणको केन्द्र बनेका कारण आफूहरुले त्यही सिको गर्दै निर्माण गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा विदेशी मात्र नभई स्वदेशी पर्यटकहरु समेत साहासिक पर्यटनमा आकर्षित भइरहेकाले स्काइ साइक्लिङ धेरैको रोजाईमा पर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले स्काइ साइक्लिङसँगै बन्जी जम्प तथा स्वीङ समेत निर्माण गरिरहेको छ । कम्पनीले स्काइ साइकिलिङ, बन्जी जम्प, स्वीङ लगायत रिसोर्ट समेत निर्माण गरिरहेको छ । यी सबै संरचना निर्माण गर्नका लागि करिब १६ करोड रुपियाँ लाग्ने कम्पनीका अध्यक्ष कार्कीले बताए ।

कम्पनीले बन्जी जम्पका लागि कुश्मा–बलेवा जोड्नेगरी कालीगण्डकी नदी माथी पाँच सय ३५ मिटर लम्बाई र दुई सय २५ मिटर उचाईको पुल निर्माण गरिरहेको छ । २०७३ बैशाखबाट निर्माण सुरु गरिएको उक्त बन्जीजम्प पुल आगामी चार महिना भित्र सम्पन्न हुने जनाइएको छ । हरेक दिन दुई सय जनाले खेल्न मिल्ने र छ सय जना मानिस वारपार गर्न सक्ने क्षमता रहेको उक्त बन्जीजम्प पुल विश्वको दोस्रो र स्विङ विश्वकै अग्लो हुने बताए । बन्जी खेल विश्वकै साहसिक खेल भएकाले गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी माथिको भुभाग अति उपयुक्त भएकाले बन्जीजम्प निर्माण गरिएको कार्कीले बताए ।

बन्जीजम्प निर्माण स्थल बलेवा विमानस्थल नजिकै भएकाले पनि बन्जीजम्प सञ्चालनमा सहजता आउनेछ । बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ–बुटवलसँग सिधा यातायातका लागि कालीगण्डकी करिडोर, पुर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण हुन थालेकाले बन्जीजम्पको प्रवद्र्धनमा सहजता आउँनेछ ।

बन्जी निर्माणका लागि पर्वतको कुश्मातर्फ चार आना र बलेवामा २५ रोपनी जग्गा खरिद गरि भौतिक संरचनाका कामहरु भइरहेका छन । स्थानीय युवाहरुको लगानी रहेको उक्त बन्जीजम्प नेपालकै प्रमुख गन्तव्य बन्नेछ । बलेवा–कुश्मा क्षेत्रको पर्यटक विकासका लागि यस अगाडि सोही ठाउँमा यान्त्रिक पुल, कुश्मा–बलेवा जोड्ने झोलुङ्गेपुल, बलेवा विमानस्थल, बलेवाको भैरवस्थान मन्दिर, बागलुङ बजारको बागलुङ कालिका भगवती मन्दिरको व्यवस्थापनका कामहरु भइरहेकाले पर्यटकलाई केही समय यतै भुलाउनका लागि समस्या नहुने स्थानीय बताउँछन् ।


२०७५, ९ कार्तिक शुक्रबार १८:२० मा प्रकाशित