बिहिबार, जेष्ठ १५, २०७७

लाल पानी–ट्याङ्की (कविता)


  • E-pari news
  • मङ्लबार, बैशाख १६, २०७७

– निभा शाह

संसद् भवन
नाटक भवन हो
यहाँ कहिल्यै रामलीला चल्छ
यहाँ कहिल्यै रासलीला चल्छ
रामलीला र रासलीलाको फ्युजन
यहाँ सधैँ लक्ष्मी–लीला चल्छ ।

जब यहाँ रामलीला चल्छ
सांसदहरू सेल्फी अपहरणमा पर्छन्
जब यहाँ रासलीला चल्छ
सांसदहरू जुहारी खेल्छन्
जब यहाँ लक्ष्मी–लीला चल्छ
सांसदहरू मध्यरातमा
मौनव्रत बस्छन्
जसो कि महाकाली मञ्चन ।

संसदीय रडाको
स्याउला युद्ध हो
कसैलाई एक डोको स्याउला चाहिएको छ
कसैलाई दुई डोको स्याउला चाहिएको छ
कसैलाई डोकाका डोका स्याउला चाहिएको छ
सिकन्दर यो धर्तीलाई अन्तिम बिदाइ दिंदै गर्दा
खाली हात गएका थिए
यी स्याउला बोकेर जानेछन्
यहाँ प्रत्येक संसदीय जुवारी
स्याउला जुवारी हो
जसो कि प्रोक्सी वार ।

प्रोक्सी वार
जहाँ देखिने र खेलिने मञ्चन अलग हुन्छ
यो अध्यादेश जुवारी
एमसीसी मञ्चनको
एउटा सानो स्क्रिप्ट हो
यो महाकाली मञ्चनको
कास्टिङ मात्र हो ।

यो अध्यादेश आउनु र जानु
जनतामाझ फालिएको
मन्दविष हो
ता कि जनता भोको पेट
मन्दविष खाइरहून्
संसद्भित्रका छेपारा
स्याउला बटुलेर
पानी–ट्याङ्कीमा हालिरहून्
कालोधन विदेशतिर पठाइरहून्
लाल–ख्वामित
तपाईंको लाल–सत्ता सदा जीवित रहोस्
लुई सोह्रौँ महाराज की जय होस् ख्वामित !

लाल ख्वामित
यो पृथ्वीको डल्लो
तपाईंकी आमाका गर्भाशयबाट
फ्वात्त झरेको डल्लो हो ख्वामित
तपाईं जोतिरहनुहोस् ख्वामित ।

लाल ख्वामित
जब जनगणना हुन्छ
यो देशका जनता
राता भेडाबाख्रा हुन् ख्वामित
तपाईं जोतिरहनुहोस् ख्वामित ।

लाल ख्वामित
जब जनयुद्ध भयो
यो देशका जनता
दुईखुट्टे राता भेडाबाख्रा भए
आज तिनका लाल सलाम गर्ने हात छैन
आज जनतासँग पासो लगाउने हात छैन
आज जनतासँग बन्दुक बोक्ने हात छैन
जनताका हातहरू जनयुद्धको मोर्चामा गुमे
आज जनता कुँजा भए
कुँजा जनताको भोको पेटमा धाजा फाटेको छ
तपाईं धाजा परेको भोको पेटमा
हलो चलाउनुहोस् ख्वामित
तपाईं भोका पेटलाई
आतङ्कवादी घोषणा गर्नुहोस् ख्वामित ।

तपाईं भोको पेटलाई
स्याउली डोकाले
थुनिदिनुहोस् ख्वामित
तपाईं भोको पेटलाई स्याउली डोकाले
बन्दी बनाउनुहोस् ख्वामित
कुनै दिन
भोको पेट बन्दी बिरालो होलान् ख्वामित
लाल ख्वामित महाराज कि जय होस् ख्वामित
लाल ख्वामित तपाईंको लालसत्ता सदा जीवित रहोस् ख्वामित ।

लुई सोह्रौँ महाराज की जय होस् ख्वामित
तपाईंको लाल–गिलोटिन सदा जीवित रहोस् ख्वामित
तपाईंको जय होस् ख्वामित !

१५ वैशाख, २०७७

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]